विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्री मण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्री राईले सत्ता गठबन्धनका दलबाट ८ जनालाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरेका छन्।
मन्त्रीमण्डलमा नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओम सरावगी र ताप्लेजुङका प्रताप प्रकाश हाङमाङ समावेश हुन लागेका छन्।
यस्तै नेकपा (माओवादी केन्द्र) बाट खोटाङका रामकुमार राई (पासा) र झापाका झलकसिं दर्लामी मन्त्री बन्दै छन्। यस्तै नेकपा (एकीकृत समाजवादी) बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।
गत आइतबार बसेको मन्त्री परिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् विस्तार भएसँगै प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना राज्य मन्त्री गरेर १४ सदस्यीय हुन लागेको हो।