विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०४:४५ मा प्रकाशित

काठमाण्डौ । मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो । 

२१ जनाको शव सोमबार नै फेला परेको थियो भने थप एक जनाको शव मंगलबार(आज) बिहान भेटिएको हो । 

निधन भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो । अन्य १२ जनाको शव पनि आज काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जानकारी दिएको छ । 

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमबार बिहान उक्त विमान थासाङ गाउँपालिका–२ स्थित पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।