विराटनगर । नामाकरणको विषय टुंग्याउन प्रदेश १ सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ ।
आगामी फागुन १० गतेका लागि बैठक बोलाइएको हो । समन्वय एवं सहजीकरण गरेर नामको विषय टुंगोमा पुर्याउनलाई प्रदेश मन्त्रिपरिषद् बैठकले गत माघ १६ गते तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई जिम्मा लगाएको थियो ।
यादव नेतृत्वको समन्वय एवं सहजीकरण समितिले सर्वदलीय बैठक बोलाएको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि प्रदेशको नाम टुंगो लगाउन पहल गरिरहेका छन् । मुलुकका ७ प्रदेशमध्ये ६ वटाले नाम पाइसकेका छन् । प्रदेश १ को नामाकरणको विषय भने अझै टुंगिन सकिरहेको छैन ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए ।