डा. बाबुराम भट्टराईमाथि गरिएको कारवाही खारेजी गर्न माग

न्युजलय ३२ असार २०७९, शनिवार ०३:५० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू सहितका नेतामाथि गरिएको कारवाहीको भत्र्सना गर्दै निर्णय खारेज गर्न माग गरेका छन् ।

 

जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका ९ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गरेका छन् ।

 

अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धतिअनुरूप नचलेकाले उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेको छ ।

 

संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टी रूपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यलगायत सबैलाई पार्टी पुनर्गठनका लागि पनि अपिल गरेका छन् । 


पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैली विरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ । संघीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै उनले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिकरूपमा संघीय परिषद् अध्यक्ष लगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाएका छन् ।


यता भट्टराई पक्षको असार २८ र २९ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।