खोटाङको रावाबेँसी गाउँपालिकाद्धारा तेल पेल्न मिल सञ्चालन

न्युजलय १२ असोज २०८०, शुक्रबार ०१:५७ मा प्रकाशित

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले तेल पेल्न मिल सञ्चालनमा ल्याएको छ  ।


तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको गाउँपालिकाले चार लाख ९२ हजार पाँच सय ३५  रुपैयाँ लगानीमा मिल सञ्चालनमा ल्याएको हो ।


किसानले व्यावसायिक रुपमा तोरी र सूर्यमुखी फूल खेती लगाएर उत्पादन गरे पनि पेल्ने मिलको अभाव भएपछि मिल सञ्चालन गर्न लागिएको हो ।  किसानले उत्पादन गरेका तोरी पेलेर तेल निकाल्ने, तेल पेलेर निस्किएको पिनालाई पशुचौपायका लागि उपयुक्त हुने दानाका रुपमा प्रयोग गर्दै पशुपालन व्यवसाय प्रवद्र्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि महुरी पालन गर्ने लगायतका बृहत लक्ष्यका साथ गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेको हो । 


गाउँपालिकाभित्रका तोरी उत्पादन गर्ने किसानलाई बजार मूल्यभन्दा प्रतिकेजी पाँच रुपैयाँ छुट दिनेगरी गाउँपालिको लगानीमा मिल सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख मुगाधन राईले जानकारी दिए । 


रावाबेँसी गाउँपालिकाका अधिकांश क्षेत्र तेलहन बालीको व्यावसायिक खेती गर्नका लागि उर्वर भूमि मानिन्छ । तेलहन बालीको लागि उपयुक्त भूमिमा गाउँपालिकाले तोरी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेपछि किसानसमेत हर्षित भएका छन् । 

उक्त मिल चलाउने जिम्मेवारी वडा नं १ कुभिन्डेको हरम्टारस्थित कटहरे कृषक समूहका सदस्य माधव पाण्डेले लिएका छन् ।