काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयअन्तर्गत निकाय तथा विभागमा कार्यरत सरसफाइ मजदुरलाई तालिमको व्यवस्था गर्न निर्देशन दिएका छन्। सफाइ अभियन्ता खेम शर्माले मन्त्रालयको निर्देशनमा मन्त्रालय मातहतका सात स्थानमा गरेको सरसफाइ अवस्थाको अध्ययन प्रतिवेदन शुक्रबार बुझ्दै मन्त्री आलेले उक्त निर्देशन दिएका हुन्।
अभियन्ता शर्माले संस्कृति, पर्यटन तथा रिक उड्डयन मन्त्रालयअन्तर्गत सांस्कृतिक, पर्यटकीय तथा व्यावसायिक महत्वका स्थानको एक हप्ता लगाएर सरसफाइ अवस्थाको अनुगमन गरेका थिए।
मन्त्री आलेले आफ्नो मन्त्रालयअन्तर्गत विभाग तथा निकायमा कार्यरत सरसफाइ कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न सम्बन्धित निकायका प्रमुखलाई मंगलबार निर्देशन दिएका हुन्। मन्त्री आलेले सम्बन्धित निकायले तत्काल सफाइ मजदुरलाई आफ्नो पेशाप्रति गौरव हुने र सीपयुक्त बन्ने गरी तालिमको व्यवस्था गर्न निर्देशन दिए।
पहिलो चरणमा पर्यटकको बाक्लो आगमन हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सफाइ मजदुरलाई तालिम दिन र त्यहाँको कामको प्रभावकारी अनुगमन गर्न पनि मन्त्री आलेले निर्देशन दिए। मन्त्री आलेलाई प्रतिवेदन हस्तान्तरण गर्दै सरसफाइ अभियन्ता शर्माले नेपालका सरसफाइ मजदुरलाई पेशागत प्रशिक्षण दिने मन्त्री आलेको निर्देशनबाट आफू निकै खुशी भएको बताए।