देशभर आज थप ९१ जनामा कोरोना पुष्टि

न्युजलय ३ असोज २०७९, सोमबार १०:५२ मा प्रकाशित

काठमाडौं । कोरोना सङ्क्रमणदर घट्दै गइरहेको छ । पछिल्लो केही दिनदेखि एक सयभन्दा कममा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।


पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार तीन हजार ९२४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ९१ जनामा कोरोना पुष्टि भएको हो ।


जसमा दुई हजार ४८८ जनाको पीसीआर परीक्षणबाट ७५ र एक हजार ४३६ जनाको एन्टीजेन परीक्षणमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।


त्यस्तै, पछिल्लो २४ घण्टामा १६५ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७४० जना छन् । सक्रिय सङ्क्रमितमध्ये एक हजार ६७८ जना होम आइसोलेसनमा र ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २० जनाको आइसियूमा उपचाररत छन् ।


मन्त्रालयका अनुसार १३ जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।