जाजरकोट । अत्याधिक चिसोका कारण भूकम्पपीडितले ज्यान गुमाउन थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् ।
शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र बिहीबार राति सोही वडाकी ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।
गोपालबहादुर दमका बिरामी थिए भने पम्फाको निमोनियाका कारण मृत्यु भएको वडाध्यक्ष बद्री पन्तले बताएका छन् ।
एकसरो लुगाको भरमा रहेका भूकम्पपीडित चिसोका कारण बिरामी पर्ने दर पनि बढिरहेको छ । अत्यधिक चिसो थेग्न नसक्दा रुघाखोकी, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको हो । भूकम्प गएको १–२ दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनियाको लक्षण देखिन थालिसकेको थियो ।
नियमित औषधि सेवनकर्ताको भूकम्पका कारण घरभित्रै औषधि पुरिएपछि कतिपय दीर्घरोगीले औषधि खान पाएनन् । जसले गर्दा पनि उनीहरूलाई छिटो चिसोले असर गर्यो ।
खानेपानी योजनामा क्षती पुगेपछि खानेपानी अभाव चुलिएको छ । स्थानीयहरू मुहानमै गएर र भेरी नदीको पानी खान बाध्य छन् । अधिकांश स्थानीयहरू शौचालय भत्किएपछि खुला शौच गर्न बाध्य छन् ।