७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिका, कर्मचारीको पाँच वर्गीकरण

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०१:०८ मा प्रकाशित

काठमाडौ । नेपालमा ७० प्रतिशत कर्मचारी खराब प्रवृत्तिको रहेको पाइएको छ । सरकारकै उच्च प्रशासकहरूले गरेको एक अध्यययनले ७० प्रतिशत कर्मचारी कामचोर रहेको र आफ्नै स्वार्थ सिद्धिमा मात्रै रमाउने गरेको देखाएको हो । 

अहिले नेपालमा १ लाख बढी निजामती कर्मचारी छन् । नेपालमा विशेषगरी पाँच प्रकारका कर्मचारी रहेको अध्ययनले देखाएको छ । 

पहिलो प्रकारमा सरकारले दिएको जिम्मेवारीअनुसार काम गर्नुभन्दा पनि आफ्नै स्वार्थपूर्तिमा रमाउँदै पढ्ने र पढाउने काममा व्यस्त हुने कर्मचारी रहेका छन् । उनीहरूले सरकारी काममा खासै सरोकार र चासो दिँदैनन् ।

दोस्रो प्रकारमा कुनै काम नगर्ने ट्रेड युनियनमा लम्पट भएर अतिरिक्त आर्जन पनि गरिरहने, तेस्रो प्रकारमा सधैं आकर्षक स्थानमा मात्रै सरुवा तथा पदस्थापन भई घुस खाने र खुवाउने, चौथो प्रकारमा कुनै निर्णय नगर्ने कुरा मात्रै धेरै गरिरहने तर काम भने नगर्ने प्रकारका कर्मचारी रहेका छन् ।

अध्ययनअनुसार पाँचौं प्रकारका कर्मचारी भने सरकारले दिएको काम जिम्मेवारीपूर्वक वहन गर्ने प्रकृतिका रहेका छन् । केही असल मनसायका प्रशासकले निजामती सेवामा काम गर्दाको झन्डै २०/२५ वर्षको अनुभवका आधारमा भोग्नुपरेका यथार्थका आधारमा यस्तो अध्ययन र निष्कर्ष निकालिएको हो । इमान्दारहमाथि नै बढी थिचोमिचो हुने गरेको अध्ययनले देखाएको छ ।

७० प्रतिशत खराब कर्मचारीकै रजगज बढ्दै जाने हो र समयमा नै सुधार नहुने हो भने कर्मचारी संयन्त्र मृत बन्न सक्ने चेतावनी दिइएको छ । निजामती प्रशासन सुधार हुन नसक्नुमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै उतिकै दोषी रहेको बताइएको छ ।