काठमाडौँ । वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ ।
त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्नेछ ।
विभागका महानिर्देशक मदन दहालले अबको केही दिनमा अनलाइन आवेदन आह्वान गरिने बताए ।
पहिलो चरणमा बढीमा २०० जना नेपाली नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको हो । पहिलो चरणमा पठाएका नर्सहरूको कार्यक्षमता राम्रो देखिएको खण्डमा दोस्रो चरणमा थप पठाउने तयारी सरकारको छ ।
नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट पारित भएको थियो । प्रोटोकल पारित भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल सरकार र बेलायतबीच ६ भदौ २०७९ मा श्रम सम्झौता (एमओयू) भएको थियो । सम्झौता भएको लामो समय प्रोटोकलमा अड्किएको थियो ।
२० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेका स्टाफ नर्स, बिएससी नर्सिङ, एमएससी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् । त्यस्तै २ वर्ष कार्य अनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनुपर्नेछ ।