श्रीमती हत्याको आरोपमा इनरूवाका भगत पक्राउ

न्युजलय ४ असोज २०८०, बिहिबार ०१:४३ मा प्रकाशित

सुनसरी । श्रीमती हत्याको आरोपमा सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत पक्राउ परेका छन् ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

विराटनगर –१७ मटेरूवाकी २३ वर्षीया निकिताको हत्या गरेको आरोप भगतमाथि छ । उनले २१ महिना अगाडि निकितासँग मागी विवाह गरेका थिए । माइती पक्षका अनुसार विवाहका बेला उनले ३५ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । त्यो पनि अपुग भएको भन्दै श्रीमतीलाई कुटपिट गर्ने गरेको माइती पक्षको आरोप छ ।

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारबाही गर्न माग गरेको प्रहरीले जनाएको छ । 

शनिबार राति निकिताको शंकास्पद मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो । अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा उनको निधन भयो । मृत्युको विषयमा भगत परिवारले फरक–फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीको भनाइ छ ।