भोलीदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही

न्युजलय २८ भदौ २०७९, मङ्गलबार १०:०५ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठका लागि भोली (बुधबार)देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । 

बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिने तयारी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले हालसम्म २ अर्ब रुपैयाँ बराबर नयाँ नोट सटही गरिसकेको राष्ट्र बैंकले जनाएको छ । भदौ २९ गतेदेखि राष्ट्र बैंकका अलवा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले पनि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै छन् । 

गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने बताइएको छ ।