विश्व आदर्शको सम्मानपछि महिला ट्राफिक प्रहरीले भने, ‘संगठनबाहिर पहिलो पटक सम्मान पायौं’

न्युजलय ३१ भदौ २०८०, आइतबार ०७:३६ मा प्रकाशित

इटहरी । तीजको अवसरमा इटहरीको विश्व आदर्श एकेडेमीले ट्राफिक महिला प्रहरीहरुलाई सम्मान गरेको छ । 


विश्व आदर्श एकेडेमीले गरेको तीज विशेष कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी अन्तरगत कार्यरत विभिन्न दर्जाका दश जना महिला ट्राफिक प्रहरीहरुलाई सम्मान गरेको हो । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उनीहरुलाई सम्मान गरेकी थिइन् ।


कार्यक्रममा प्रहरी नायव निरीक्षक विनुमाया शिवाकोटी, प्रहरी वरिष्ठ हवल्दार गंगा भुजेल, तुलसा खड्का, प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराई, धनकुमारी बस्नेत, चन्द्रकला देवकोटा, प्रहरी जवान सविता बस्नेत, अन्जली धामी, बुनु दाहाल र गंगा दाहाललाई सम्मान गरिएको थियो ।


प्रत्येक वर्ष विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने महिलाहरुलाई सम्मान गर्दै आएकोमा यस वर्ष राजमार्गमा खटिएर यातायात व्यवस्थापन गर्ने कार्यमा योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरिएको विश्व आदर्श कलेजका प्राचार्य गणेशकुमार दुलालले जानकारी दिए ।


सम्मानपछि बोल्दै वरिष्ठ हवल्दार भुजेलले आफूहरुले संगठनबाट बाहिर पहिलो पटक सम्मान पाएको प्रतिक्रिया दिइन् । उनले केही साताअघि इटहरी चोकमा भएको स्कुटर दुर्घटनाको बेलामा चोकमा आफूलगायत केही महिला ट्राफिक प्रहरीहरु मात्र भएको र आक्रोशित भीडको आक्रमणबाट आफूहरुले ट्रक चालकलाई बचाएको स्मरण गरिन् । उनले संकटको समयमा आफूसँग सिठी र टोपी मात्र साथमा हुने हुँदा ज्यान जोखिममा राखेर भएपनि आफ्नो कर्तव्य पुरा गर्ने गरेको बताइन् । उनले ट्राफिक नियम पालना गरेर सवारी चलाउनसमेत आग्रह गरिन् । 


कार्यक्रममा विद्यार्थीहरुले साँगीतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । विश्व आदर्श एकेडेमीका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी तथा शिक्षकहरु र विद्यार्थीहरुको सहभागिता थियो ।