सोमालियामा खडेरीले ६९ लाख मानिस प्रभावित

न्युजलय ३१ फाल्गुण २०७८, मङ्गलबार ०८:१५ मा प्रकाशित

काठमाडौं । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएको भन्दै यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ ।

 

सोमबार साँझ प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्‍याउन दाताहरूलाई आग्रह गरेका हुन् ।


सोमबार दाता राष्ट्रका प्रतिनिधिहरुसँग भेटवार्ता गरेको रोब्लेले बताए । 

 

खडेरीका कारण झण्डै ६९ लाख मानिस प्रभावित हुनुका साथै ९५ लाखभन्दा बढी पशुचौपाया प्रभावित भएका बताइएको छ । 


सरकारका अनुसार २६ लाख मानिसमा पानीको गम्भीर अभाव छ ।    


तीन वर्षसम्म खासै पानी नपरेपछि सरकारले ‘सन् २०११ को अनिकालपछि देशमा सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको’ बताएको छ । 


खडेरीका कारण पशुधन र अन्नबाली नष्ट भएको बताउँदै उनले देशका खडेरी प्रभावित जनतालाई आकस्मिक सहयोगमा भाग लिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।  


संयुक्त राष्ट्रसंघको मानवीय मामिला सम्बन्धी समन्वय कार्यालय (ओसिएचए)ले अप्रिल महिनाको अर्को वर्षायामभन्दा अगावै खडेरी आकस्मिक अवस्था झन् बिग्रने चेतावनी दिएपछि सो अपिल आएको हो ।


सो अपिलमा दादुरा र पखाला तथा हैजाका घटना बढ्दै गएको पनि उल्लेख गरिएको छ ।


ओसीएचएले जीवन र जीविकोपार्जनको लागि प्राथमिकता प्राप्त क्षेत्रमा थप आर्थिक सहायता तत्काल आवश्यक रहेको बताउँदै स्थानीय समुदाय, अधिकारकर्मी र मानवीय साझेदारले उपलब्ध श्रोतभित्र सहयोग बढाउँदै जाने बताएको छ ।