काठमाडौं । दर्ताबिना टीभी च्यानल संचालन गरिएको खुलेपछि आलोचित बनेको पतञ्जली योगपीठ नेपालले आफ्नो बचाउ गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट दुई वटा टेलिभिजन च्यानलको उद्घाटन गराएको पतञ्जलीले ती च्यानल दर्ता नै नगरेको खुलेको थियो ।
सर्वत्र्र आलोचनापछि योगपीठका आईटी इन्चार्ज सन्दीप वाल्मीकिले विज्ञप्ति निकालेर टिभी उद्घाटन भन्दा पनि टिभी भवन उद्घाटन गरीएको जनाएका छन् । टिभी संचालन गर्न गत असोज ८ गते गते कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणिकरण लिइएकोसमेत उनले बताएका छन् ।
सरकारको नीति, नियम कानूनको अधिनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात् मात्र टिभी संचालन हुने योगपीठले जनाएको छ । आफूहरू विशुद्ध सेवामूलक सामाजिक संस्था भएको दाबी गर्दै पतञ्जलीले हतारमा केही मिडियाले स्ष्ट नबुझी भ्रामक सूचना प्रसार गरेको जिकिर गरेको छ ।
शुक्रबार प्रधानमन्त्री देउवाले प्रचण्ड, माधव नेपाललगायतको उपस्थितिमा ‘पतञ्जली नेपाल’ र ‘आस्था नेपाल’ टिभी च्यानलको उद्घाटन गरेका थिए ।