काठमाण्डौ । बालबालिकाका लागि कोरोनाविरुद्धको थप खोप ल्याइएको छ ।
५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप ल्याइएको हो । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार बिहान कतार एयरको उडानमार्फत खोप काठमाडौं पुगेको हो । असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइएको थियो ।
२ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने योजना छ । यो खोप पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।
पहिलो चरणमा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप कार्यक्रम सञ्चालन भएको थियो ।