काठमाडौं । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बयान अदालतमा दिएका छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाई करोडौं असुलेको आरोपमा पक्राउ परेका खाणसँग जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुनुअघि लिइएको बयानमा संलग्नता अस्वीकारेका हुन्। खाणलाई इजलासका न्यायाधीशले २४ प्रश्न सोधेका थिए।
खाणलाई तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली शरणार्थी प्रकरणको धन्धामा सघाएको र करोडौं रकम दिएको बयान अदालतमा दिइसकेका छन्। तर खाणले तत्कालीन गृहसचिव पाण्डे झुटो बोलेको दाबी गरेका छन्।
आजबाट नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकिएको छ। यसअघि अरू १५ जनाको बयान लिइएका थियो। जिल्ला अदालत काठमाडौंमा शुक्रबार पूर्वगृहमन्त्री खाणसहित तीन अभियुक्तको बयान गराइएपछि हिरासतमा रहेका सबैको बयान सकिएको हो।
बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ। सरकारी वकिलको कार्यालयले प्रतिवादीको बयान अध्ययनका लागि अदालतसँग केही दिन समय मागेको छ।