ओखलढुंगा अस्पतालमा डेढ महिने शिशुको मृत्यु, आफन्तले बुझेनन् शव

न्युजलय २१ असोज २०८०, आइतबार ०७:१३ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पताल मिसनको लापारबाहीले एक महिना २३ दिनकी शिशुको मृत्यु भएको छ ।


सिद्धिचरण नगरपालिका ५ का डोमप्रसाद दाहालकी छोरी रियाना दाहाललाई पिसाब रोकिने समस्याले सिकिस्त भएपछि शुक्रबार बिहान अस्पताल ल्याइएको थियो ।


अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएकी शिशुलाई अस्पतालले बहिरंग सेवा्मार्फत उपचार गर्नु भनेर पठायो । बहिरंग सेवामा दिउँसो १ बजेसम्म लाइनमा बसेर उपचार पालो आएपछि पुनः चिकित्सकले आकस्मिक कक्षमै रेफर गरे ।


त्यतिन्जेलमा शिशुको अवस्था गम्भीर भइसकेको थियो । आकस्मिक कक्षमा लगी इन्जेक्सन लगाउँदा नै शिशुले सास फेर्न छोडिसकेको आफन्तको भनाइ छ ।


तर, चिकित्सकले शिशुलाई आईसीयूमा राखे । साँझ ९ः४५ बजेतिर शिशु मृत भएको अस्पतालले जानकारी दियो ।


आकस्मिक कक्षमा उपचारका लागि पुर्‍याइएको बिरामी शिशुलाई बहिरंगतर्फ पठाएर समयमै उपचार नगरी लापारबाही गरेको भन्दै आफन्तले अस्पतालले माफी माग्नुपर्ने सर्त राखेको थियो ।


अस्पतालका निर्देशक डा. रोशन खरेलले बिरामीको आफन्तबाट आँफूहरू असुरक्षित भएको अभिव्यक्ति दिएपछि आफन्तले चार बुँदे माग राखी शिशुको शव जिम्मा नलिने अडान राखेका छन् ।