सुरक्षित यात्राका लागि चालकलाई शुभयात्रा कार्यक्रम

न्युजलय २ कार्तिक २०८०, बिहिबार ०२:०५ मा प्रकाशित

काकडभिट्टा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले काकडभिट्टा बसपार्कमा बसका सवारी चालकहरुलाई शुभयात्रा तथा सम्मान कार्यक्रम गरेको छ । 

सुदुर पूर्वको भारतसंग सिमा जोडिएको झापाको काकडभिट्टाबाट यात्रु लिएर सुदुर पश्चिमको भारतसंगै सिमानाका जोडिएको कञ्चनपुर जिल्लाको महेन्द्रनगरका लागि हिडेका सवारी चालकहरुलाई सम्मान गरेको हो । सवारीका चालक श्यामबहादुर गुरुङलाई बुधबार काकडभिट्टा बसपार्कमा ढाका टोपी, मखमली फूलको माला र अविर लगाएर यात्रुहरुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउनुहोला भन्दै शुभयात्रा कार्यक्रमबाट विदाइ गरिएको हो ।

मेची नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, संगठनका अध्यक्ष भीमज्वाला राई र इलाका प्रहरी कार्यालय काकडभिट्टाका डिएसपी दिपक भारतीले चालकहरुलाई शुभयात्रा भन्दै विदाइ गरेका थिए ।

काकडभिट्टा काठमाण्डौं रुटका चालक सचिन महत, बुटवल रुटका हरेराम खड्का, चरिकोट दोलखा रुटका चालक रविन रिजाल, भैरहवा रुटका चालक गोविन्द ढकाल सहित लामो दुरी, मध्यम दुरी र छोटो दुरीका ४५ जना चालकहरुलाई १५ मिनटको अनुशिक्षण सहित शुभयात्राको कामना सहित विदाइ गरिएको थियो । सोही अवसरमा सडक दुर्घटना नगर्ने चालकहरुलाई सम्मान समेत गरिएको थियो । 

चाडपर्वको समय सडक दुर्घटनामा तिब्र वृद्धि हुने गरेकाले न्युनिकरणका लागि संगठनले चालकहरुलाई छोटो समयको अनुशिक्षण र शुभयात्राको कामना गर्दै विदाइ कार्यक्रम सञ्चालन गरिएको संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।

अध्यक्ष राईका अनुसार सडक दुर्घटनामा परेर नेपाली सडकमा प्रत्येक दिन आठ जनाले ज्यान गुमाउने गरेको, प्रत्येक महिना २ सय ४० जनाको ज्यान जाने गरेको र प्रत्येक वर्ष २ हजार ८ सय ८० जनाको मृत्यु हुने गरेको बताए ।

सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाईते भईरहेको बताउदै दसैँ आसपास सडक दुर्घटनाको संख्या ह्वात्तै बढ्ने गरेकाले सबै भन्दा बढी यातायात मजदुरहरु सडक सुरक्षा बारे सजग हुन नेता राईले सुझाव दिए ।