निहारिकाको मुद्दा अघि बढ्यो, झगडिया झिकाउने आदेश

न्युजलय ३ असार २०७९, शुक्रबार १२:५७ मा प्रकाशित

काठमाडौं । अनशनरत निहारिका सिंह राजपुतको मुद्दा उच्च अदालतमा सुनुवाइ अघि बढेको छ । आफूमाथि बलात्कार भएको र बच्चासमेत जन्मेको दाबीसहित काठमाडौंको वसन्तपुरमा उनी केही दिनदेखि अनसनमा छिन् ।

महोत्तरी जलेश्वरकी राजपुतको मुद्दामा बिहीबार उच्च अदालत जनकपुरले झगडिया झिकाउने आदेश गरेको छ । उच्च अदालतको संयुक्त इजलासले उनको मुद्दामा प्रतिवादीलाई बयान गर्न झिकाउने आदेश गरेको हो । यो आदेशसँगै मुद्दा अब सुनुवाइमा अघि बढ्ने भएको छ ।

निहारिकाले जिल्ला अदालत धनुषाको फैसलाविरुद्ध उच्च अदालत जनकपुरमा ०७६ आश्विन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन्। जिल्ला अदालतमा पेश भएको कागजमा उनले श्रीमान भनेर पेश गरेका कारण अदालतले उनको विपक्षमा फैसला सुनाएको थियो । उनले काठमाडौंमा आएर बच्चाको डीएनए परीक्षणको मागसमेत उठाएकी छन् । उनको उक्त माग आगामी पेसीमा इजलाससमक्ष उठाउने तयारी सरकारी पक्षले गरेको छ।