मौन अवधिमा प्रचार गरेको भन्दै निर्वाचन आयोगले माग्यो प्रचण्डसँग स्पष्टीकरण

न्युजलय ३० बैशाख २०७९, शुक्रबार ०२:४५ मा प्रकाशित

काठमाडौं । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग ८ घण्टे स्पष्टीकरण मागेको छ।


पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले मौन अवधिमा चितवनको भरतपुरका मेयरका उम्मेदवारलाई मत मागेको जनाउँदै आयोगले स्पष्टीकरण मागेको हो। अध्यक्ष दाहालले वैशाख २९ गते बिहान भरतपुर–२६ चनौली र दिव्यनगर तथा माडी–५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार तथा कार्यकर्तासँग भेटघाट गरेर भोट मागेको आयोगले जनाएको छ। भरतपुर महानगरको मेयरमा दाहालकी छोरी रेणु उम्मेदवार बनेकी छन्।


वैशाख २७ गते रातिदेखि नै मौन अवधि शुरु भइसकेको छ।  


आचारसंहिता उल्लंघनमा दाहालसँग आयोगले दोस्रो पटक स्पष्टीकरण मागेको हो। यसअघि भरतपुरमा पुगेर मतदातालाई धम्क्याएको भन्दै दाहालसँग आयोगले स्पष्टीकरण मागेको थियो।