काठमाडौं । मंसिर ७ गतेको लागि दुर्गा प्रसाईंले आह्वान गरेको भेलामा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथिको दुर्व्यवहारमा युवा संघका जिम्मेवार नेताको सहभागिता देखिएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा युवा संघका सचिवालय सदस्य विनोद राईले दुव्र्यवहार गरेको देखिएको छ ।
राईको नेतृत्वमा गएको समूहले नै लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा सुतिरहेका महिलाहरूलाई उठाएर बाहिर निकालेका थिए ।
भक्तपुर प्रहरीले थाहा पाएपछि आएर महिलाहरुलाई फेरी भित्र राखिएको थियो । युवासंघका कार्यकर्ताहरु भने भागेका थिए ।
संघ भन्छ, ‘संगठनको सहभागिता छैन, अनुसन्धान गर्दैछौं’
यता संघका अध्यक्ष क्षितिज थेवेले भने पछि प्रहरीले फोन गरेपछि मात्र आफूले थाहा पाएको बताएका छन् । उनले घटनामा संगठनको संलग्नता नभएको जनाए ।
पछि निकालेको विज्ञप्तीमा संघले मंसिर ७ गते आयोजना गरिने युवा विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी भएको आशंका गरेको छ ।
अध्यक्ष क्षितिज थेबेले युवा संघलाई जोडेर सामाजिक सञ्जालमा भिडिओ तथा अडिओ सामग्री फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले घुसपैठबारे आन्तरिकरूपमा छानबिन गरिरहेको जनाएका छन् ।
७ गते युवासंघले तीनकुनेमा र दुर्गा प्रसाईले बल्खु चोकमा शक्ति प्रदर्शन गर्दैछन् ।