कैलाली । कैलालीको धनगढीमा ३ दिनदेखि सञ्चालित धामीझाँक्री सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
मर्यादित महिनावारीका लागि गरिएको सम्मेलनले महिनावारीमा भेदभाव गर्ने, छुवाछूत गर्ने कु–प्रथाको अन्त्य गरी महिनावारीलाई मर्यादित बनाउने घोषणा गरेको छ ।
महिनावारीको रगत पवित्र र सृष्टिको आधार भएकाले यसलाई मर्यादित बनाउन सबैको जिम्मेवारी महत्त्वपूर्ण जनाउँदै धामीझाँक्रीले महिनावारी अवस्थामा रहेका किशोरी र महिलालाई छुवाछुत नगरी उचित सम्मान प्रकट गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घोषणापत्रमा महिनावारी हुने ५ दिन र महिनावारी नहुने २५ दिन समान व्यवहार कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउँदले मर्यादित महिनावारीका लागि धामी झाँक्री सम्मेलनले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्न प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।