संखुवासभा । संखुवासभा वडा अध्यक्षकै योजनामा जग्गा ठगी भएको खुलेको छ।
प्रहरीले जग्गा ठगी प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले भोटखोला गाउँपालिका –४ का वडा अध्यक्ष किन्साङ भोटेलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, मालपोत कार्यलयमा कार्यरत एक नायव सुब्बासमेत रहेका छन्।
प्रहरीले भोटखोला गाउँपालिका बस्ने ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीया कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, खादबारी नगरपालिका–१ घर भएका ५१ वर्षीय महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका घर भएका ३५ वर्षीय अनिस गुरुङ र चैनपुर नगरपालिका बस्ने ३५ वर्षीय पासाङ शेर्पा रहेका छन्। पराजुली मालपोत कार्यलय खादबारीका नायव सुव्बा हुन्।
उनीहरुले बिममाया तामाङलाई वृद्धभत्ता मिलाइदिन्छौ भन्दै खाँदबारी ल्याई ६ वटा कित्ता जग्गा नामसारी गराएका थिए। उनीहरुले कित्ता नम्बर २७५ र २८० को जग्गा अरुकै नाममा रजिष्ट्रेसन पास गराएका हुन् ।
वडा अध्यक्ष किन्साङ भोटे, सुरेन्द्र तामाङ र मालपोत कर्मचारी महेन्द्रकुमार पराजुलीको योजनामा बिममाया तामाङलाई प्रलोभनमा पारी, झुक्याई तथा कीर्ते कागजसमेत तयार पारी अरुण जलविद्युत आयोजनाबाट ठूलो रकम मुआब्जा लिने प्रयोजनका लागि आफन्तको नाममा जग्गा पास गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।