काठमाडौं । गण्डकी प्रदेशमा शनिबार भारी वर्षा हुने भएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर भएकाले शनिबार राति गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
शनिबार राति भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।