पाकिस्तानको एक मस्जिदमा बम बिस्फोट हुँदा ३० जनाको मृत्‍यु

न्युजलय २० फाल्गुण २०७८, शुक्रबार ०७:३२ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको पेशावर शहरको किस्सा ख्वानी बजार क्षेत्रमा शुक्रबार बम बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्‍यु भएको छ । बिस्फोटमा परी दर्जनबढी घाइते भएका छन् ।


उक्त बम बिस्फोट किस्सा-ख्वानी बजारको गल्ली कूचा-ए-रिसालदारमा सिया मुसलमानको जामे मस्जिदमा भएको हो ।

 

लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमले उक्त घटनामा कम्तीमा ३० जनाको मृत्‍यु भएको पुष्टि गरेका छन् । बम बिस्फोटपटछि उक्त स्थानलाई सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

निजी टीभी च्यानल जियो न्‍यूजसँग कुरा गर्दै एसएसपी अपरेशन हारुन रसिदले भनेका छन्, ‘यो ठाउँमा बिस्फोट आत्मघाती हमला थियो ।’


यस्तै अली हैदर नामक एक प्रत्‍यक्षदर्शीका अनुसार सबै मानिस मस्जिदमा नमाज पढ्‍ने तयारीमा रहेका बेला एक बन्दुकधारी मस्जिदभित्र प्रवेश गरी चोली चलाउन थालेको थिए । यसपछि त्यही बन्दुकधारीले मस्जिदमा बम बिस्फोट गराएको उनले बताए ।


यस्तै पाकिस्तानका गृहमन्त्री शेख रासिद अहमदले ट्वीट गरेर बिस्फोटको भर्त्सना गरेका छन् ।


उनले भनेका छन्, ‘ पेशावरमा आतंककारी हमलाको घोर भत्सना गर्दछु । घटनाको रिपोर्ट मुख्‍य सचिव थता आइजीसँग माग गरेको छु । बिस्फोटमा मारिएका मानिसप्रति दुस्खी छु ।म शहीद परिवारमा समवेदना प्रकट गर्न चाहन्छु ।’