यस्तो हुनेछ काँकडभिट्टा–लौकही सडक

न्युजलय २३ साउन २०७९, सोमबार ०७:३१ मा प्रकाशित

झापा । काँकडभिट्टा–लौकही १२० किलोमिटर सडकअन्तर्गत ३७७ संरचना हटाइने भएको छ ।

दुई लेनबाट चार लेनमा स्तरोन्नति गर्न लागिएको यो सडकखण्डअन्तर्गत साना–ठूला गरी ती संरचना हटाइने बताइएको छ । 

बिर्तामोड नगरपालिकासँग जोडिएको सडकअन्तर्गत दुर्गा मन्दिर, जिल्ला ट्राफिक प्रहरी कार्यालयको पुरानो भवनलगायत सात संरचना छन् ।

एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने निर्माणकार्य तीन वर्षभित्रमा सम्पन्न हुनेछ ।

‘एसियन हाइवे स्ट्यान्डर्ड’को बन्ने यो सडकको कुल १२० किलोमिटरमध्ये झापामा ५४.९ किलोमिटर पर्छ । झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आउँदो पुससम्ममा ठेक्का खुल्ने र आउँदो वर्षको सुरुवातदेखि नै निर्माणको काम सुरु हुने बताइएको छ । 

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकडभिट्टादेखि इटहरीसम्म सुरु हुनेछ । ३०० मिटरभन्दा लामो पुल रहेको ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । 

तीन प्रकारको डिजाइन गरिएको सडक ग्रामीण र जंगल भएको क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्र तथा मुख्यबजार क्षेत्रमा ५० मिटर चौडाइको हुनेछ ।

आयोजनाले काँकडभिट्टा, इँटाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायत नौ घनाबस्ती भएको स्थानमा आकाशे पुल र ‘अन्डर पास’ निर्माण गरिने जनाइएको छ ।

यस आयोजनाबाट १२ वटा नगरपालिका, चारवटा गाउँपालिका र एउटा उपमहानगरपालिकाका ८२ वडा प्रभावित हुने जनाइएको छ ।