मूल्य वृद्धिको विरोध स्वरुप रास्वपाद्धारा प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

न्युजलय १४ असोज २०८०, आइतबार ०५:१५ मा प्रकाशित

काठमाडौं । रास्वपा अध्यक्ष रवि लामिछानेले मूल्य वृद्धिको विरोधमा बैठक बहिष्कार गरेको जानकारी दिएका छन् ।


न्यूयोर्क र चीन भ्रमण सकेर फर्किएलगत्तै आज बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले सात दलको बैठक बोलाएका छन् ।


रास्वपा सभापति लामिछानेले उक्त बैठक बहिष्कार गरेको जानकारी दिंदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं । थप कार्यक्रमबारे जानकारी दिनेछौं ।’



नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी डिजल,मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाइएको छ ।