एमालेले भोलि सम्ममा वडा र पालिकाको उम्मेदवार टुङ्गो लगाउने

न्युजलय २५ चैत २०७८, शुक्रबार ०१:४९ मा प्रकाशित

विराटनगर । नेकपा एमालेले आज वडाका सदस्य र अध्यक्षका उम्मेदवारको नाम टुङ्गो लगाउँदै छ । नेकपा एमाले मोरङ जिल्ला समितिले स्थानीय तहको निर्वाचन उम्मेदवार छनौट र सिफारिस सम्बन्धी विशेष निर्देशनमा २५ गते साँझ ७ बजेसम्म सबै वडाको अध्यक्ष र सदस्य उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गर्न निर्देशन दिएको हो ।


चैत २५ गते एकै दिन जिल्लाका १७ वटै पालिकाका १५९ वडा कमिटी र वडा संयन्त्रको छुट्टाछुट्टै बैठकको आयोजना गरी सर्वसम्मत रूपमा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरू छनौट गर्न निर्देशनमा भनिएको छ। संयन्त्र र वडा कमिटीको बैठकमा सहमति नजुटे मात्र एक पदका लागि बढिमा ३ जनाको नाम सिफारिस गर्न सकिने गरी निर्देशन दिइएको नेकपा एमाले जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।


बैठक आयोजना गर्दा पहिला सम्बन्धित तहको कमिटीको पूर्ण विस्तारित बैठक र त्यसपछि संयन्त्रको बैठक बस्नु पर्ने पनि निर्देशन एमाले जिल्ला कमिटीले सबै स्थानीय तह र वडा कमिटीलाई निर्देशन दिएको खतिवडाले बताए ।


यो वर्ष महिलालाई प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउने बारेमा पनि छलफल भइरहेको एमालेले जनाएको छ । कुन(कुन पालिकामा महिलालाई उम्मेदवार दिने भन्ने बारेमा एमाले पार्टी भित्रबाट कुनै प्रतिक्रिया दिएको छैन ।