डाक्टर ड्युटीमा नगएपछि बीपी प्रतिष्ठानको सबै सेवा प्रभावित

न्युजलय २७ असोज २०८०, शनिवार ०१:४७ मा प्रकाशित

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरु ड्युटीमा नगएपछि प्रतिष्ठानको सबै सेवा प्रभावित भएको छ । 


प्रतिष्ठानको सघन उपचार कक्ष (आईसीयू), दर्जन बढी ओपीडी, आठ सय जना बिरामी उपचाररत विभिन्न वार्ड, इमर्जेन्सी सेवा, शल्यक्रियादेखि चिकित्साशास्त्रको अध्ययन अध्यापन, परीक्षा, अनुसन्धान र प्रतिष्ठानभित्रै सञ्चालित विभिन्न विभागका क्लिनिकमा उपचार सेवा प्रभावित भएको छ ।


सात वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको भन्दै तीन दिनअघि चिकित्सकहरूले प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री र कुलपति प्रधानमन्त्रीलाई सामूहिक राजीनामा दिएर फर्केका करिब १५० जना चिकित्सक नियमित ड्युटीमा नजाने भएका छन्  ।


प्रतिष्ठानको पदाधिकारी स्तरबाट केही नहुने संकेत पाएपछि सामूहिक रूपमा काठमाडौं गएर प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिष्ठानका पूर्वउपकुलपति डा. शेखर कोइराला, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोक सेवा आयोगका अध्यक्षलगायतलाई भेटेर आफ्ना मागबारे ज्ञापनपत्र बुझाएका थिए ।