काठमाडौं । एमालेबाट सुनसरी क्षेत्र नं. ३ मा सर्वसम्मत उम्मेद्वार सिफारिस भएकी भगवति चौधरीले आर्थिक समृद्धि, निर्यातमुखी कृषि, युवा स्वरोजगारबाट नै मुलुकको विकास गर्न सकिने बताएकी छन् ।
चौधरीले सुनसरी क्षेत्र नं. ३ विकास र आर्थिक दृष्टिकोणले सबैभन्दा पछाडी परेको चर्चा गर्दै उक्त क्षेत्रको विकास र जनताको जीवनस्तर उकास्नकै लागि आफु राजनीतिमा होमिएको पनि बताइन् ।
सुनसरी क्षेत्र नं. ३ सँग जोडिएका क्षेत्र र जिल्लाका जनताको जीवनस्तर सुदृढ हुँदै जाँदा आफ्नो क्षेत्रका जनताहरु अझै ऋणमा पिल्सिइरहेको पनि बताइन् । ‘अन्य क्षेत्र र जिल्लाहरुको आर्थिक सूचकांक सवल हुँदा मेरो क्षेत्रको आर्थिक सूचकांक कमजोर हुनुको कारण राज्यको भूमिका कमजोर भएर हो । यो पल्टको निर्वाचनमा जितेपछि मेरो एउटै उद्देश्य आफ्ना क्षेत्रका जनताको जीवनस्तर उकास्ने रहनेछ ।’
चौधरीले यसपल्ट आफुले १० औं हजार भोटले चुनाब जित्ने दावी पनि गरिन् । पछिल्लो समय युवाहरुले उठाएका सुशासन, आर्थिक उन्नती, स्वरोजगार, आत्मनिर्भरताका कुरा आफुले १० वर्ष अगाडी देखि उठाउँदै आएको बताउँदै चौधरीले योपल्ट सुनसरी ३ ले परिवर्तनका लागि आफुलाई भोट दिने दावी गरिन् ।
चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज हुन् । २०६४ सालको पहिलो संविधान सभा सदस्य समेत रहेर झलनाथ खनालको नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भइसकेकी चौधरी लघुवित्त र महिला सशक्तिकरणको अभियानमा सक्रिय रहेकी छिन् ।