सहमती नजुटेपछि एमालेमा आज चुनाव हुँदै

न्युजलय १३ मङ्सिर २०७८, सोमबार ०७:१५ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा सहमति नजुटेपछि सोमवार बिहान चुनाव हुने भएको छ ।

आइतवार मध्यराति महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी प्रस्ताव गरेर सोमवार बिहान ९ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेका छन् ।

बिहान ९ बजेपछि चुनावी कार्यक्रम शुरू हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवार मनोनयनको दर्ताको शुल्क तोकेको छ । जसअनुसार अध्यक्षका लागि १५,००० रुपैयाँ तोकिएको छ ।

यसैगरी केन्द्रीय पदाधिकारीका लागि १० हजार, केन्द्रीय सदस्यका लागि पाँच हजार, के‍न्द्रीय आयोगको अध्यक्षका लागि १० हजार र केन्द्रीय आयोगको केन्द्रीय आयोग र सदस्यका लागि पाँच हजार तोकिएको छ । यस्तै उम्मेदवार दरखास्त फारमको १०० रुपैयाँ तोकिएको छ ।

मध्यरातसम्म चलेको बन्दसत्रमा ओलीले आगामी ५ वर्षको लागि निर्वाचित हुने पदाधिकारीमा आफ्नो नेतृत्वमा टीम घोषणा गरेका थिए । ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेललाई प्रस्ताव गरेका थिए ।

उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, पद्मा अर्याल र रघुवीर महासेठ, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका थिए ।

ओलीले बन्दसत्रमा पेस गरेको सूचीप्रति उपाध्यक्ष भीम रावलले भने आपत्ति जनाएका थिए ।