अब इटहरी उपमहानगरबाटै श्रम स्वीकृति लिन पाइने

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०५:४७ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ ।


मंगलबार इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै उपमहानगरले श्रम स्वीकृति सेवाको शुरूवात गरेको हो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार सेवा सुरु गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताएका छन् ।


यस अघि वैदेशिक रोजगारीमा जान चाहनेहरु काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता थियो । स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सेवाग्राहीलाई झण्झट र लागत कम हुने मेयर पौडेलको भनाइ छ । 


श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले जनाएको छ ।