खानेपानी मन्त्री उमाकान्त चौधरी पार्टीबाट निलम्बित

न्युजलय २९ भदौ २०७९, बुधबार ०१:१४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।

 

समितिले बारा क्षेत्र नं.१ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गरेको हो। 


समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नं.२ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ। 


अनुशासन समितिका संयोजक अरुणकुमार यादवले निलम्बन गरेका हुन्। उनीहरूमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ। तीनै जनालाई निलम्बन गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको यादवले जानकारी दिएका छन्। 


पार्टी विरोधी गतिविधिमा लागेका कारण कारवाही गरिएको यादवले बताए। लामो समयदेखि दुई गुटमा विभाजित कांग्रेसभित्रको विवाद यतिबेला छताछुल्ल भएको छ। 


केन्द्रीय सभापति शेरबहादुर देउवा निकट रहेका सहमहामन्त्री फरमुल्लाह मंसुर र मन्त्री चौधरी कृष्णप्रसाद सिटौलाको छुट्टाछुट्टै गुट छ।  


केन्द्रीय तहमा देउवा र सिटौला एकै समूहमा रहेपनि जिल्लामा भने दुई गुटबीच चरम विवाद देखिन्छ।