काठमाडौँ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन बनेको छ । यो स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसन हो ।
जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर सब स्टेसन मुलुककै पहिलो हो भने यो दोस्रो हो । इनरुवामै २२०÷१३२÷३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छ ।
इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।
यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल–भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ ।
मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।