इटहरी । सुनसरीको धरान–इटहरी ६ लेन सडक खण्ड बीचमा लथालिङ्ग छाडिएको सडक खण्डको काम नगरे आन्दोलनको चेतावनी दिइएको छ ।
यातायात व्यवसायीहरूले सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै सेउती पुल देखी पानी पिया सम्म सडक खण्डको काम एक साता भित्र सुरु नगरिए आन्दोलन सुरु गरिने चेतावनी दिएका हुन् ।
यातायात व्यवसायी संस्थाहरूमा नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात मजदुर सङ्घ कोशी प्रदेश समितिले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उक्त सडक खण्डको निर्माण सम्पन्न गर्ने समायावधी भइसक्दा पनि ५० प्रतिशत मात्र काम गरेर सडक लथालिङ्ग पारेर छोडेको कारणले सवारी दुर्घटना बढेर धनजनको क्षति बढेको, धुलो, हिलोले यात्रीलाई सास्ती दिएको, सवारी साधनमा टुटफुट बढेर जीर्ण बनाएको, दुई पाङग्रे सवारी चल्नै नसक्ने अवस्थामा पुगेको जाहेर गर्दै उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कोशी प्रदेशका मुख्यमन्त्री, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी, ६ लेन सडक निर्माण आयोजना प्रमुख धरान र इटहरी उपमहानगरपालिकालाई सहितलाई चेतावनी दिएका हुन् ।
रानी–विराटनगर ६ लेख सडकको धरान तीनकुने देखी सेउती पुल खण्डको सडक तोकिएको समय भित्रै सकिए पनि, सेउती पुल देखी तरहरा पानीपिया खण्डको ठेकेदार होमदोङ ठेक्कर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का प्राप्त गरे देखी काममा ढिलासुस्ती गरेको महसुस गर्दै आएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।