इटहरी । रास्वपाले इटहरी उपमहानगरपालिका अगाडी हस्ताक्षर प्रदर्शन गरेको छ । करवृद्धिविरुद्ध इटहरीका विभिन्न वडाबाट संकलन गरेर ल्याएको हस्ताक्षर प्रदर्शन गरेको हो ।
रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीका अनुसार करवृद्धि विरुद्ध २७ हजार नगरवासीको हस्ताक्षर सङ्कलन गरिएको छ ।
कर घटाउनका लागि गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि लगातार उपमहानगरपालिका धर्ना तथा हस्ताक्षर संकलन अभियान चलाएको थियो ।
हस्ताक्षर गर्ने हरेकको विवरणसहित मेयरलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको मैनालीले जानकारी दिए । कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउने उनले बताए ।
यता उपमहानगरपालिकाले भने कर घटाउन कुनै चासो दिएको छै्रन । व्यापक दबाबपछि एक महिनाअघि कार्यपालिका बैठकबाट कर समायोजन तथा पुनरावलोकन समिति गठन गरेपनि उपमहानगरपालिकाले कर घटाउन नचाहेका कारण समितिले समेत काम गर्न सकेको छैन । सदस्यहरुको लापरवाही र कार्यव्यस्तताको बहानाका कारण बैठक समयमा बस्न नसक्दा समितिले प्रतिवेदनको ड्राफ्टसमेत बनाउन नसकेको हो ।