प्रदेश १ सरकारले कम्तीमा ४ मन्त्रालय थप्दै

न्युजलय २३ पुस २०७८, शुक्रबार ०५:२७ मा प्रकाशित

मोरङ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कम्तीमा ४ मन्त्रालय थप्ने अन्तिम तयारीमा छन् ।

मुख्यमन्त्री राईले दलीय भागबन्डा मिलाउन मन्त्रालय विस्तार गरेर मन्त्रालयको संख्या थप्न लागेका हुन् ।

प्रदेश सरकारले मन्त्रालय संख्या बढाउन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

आङ्बोले मन्त्रालय विस्तार गरेर संख्या थप्ने अन्तिम तयारीमा जुटेको बताए । कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मन्त्रालयको संख्या ११ पुर्‍याउने तयारी गरेको हो ।

४ वटा मन्त्रालय थप विस्तार गर्दा मन्त्रीविहीन रहेको दुईसहित ६ वटा मन्त्रालय गठबन्धन दलले बाँडफाँट गरेर मन्त्री नियुक्त गर्ने तयारीमा जुटेको छ ।

६ वटा मन्त्रालयमध्ये कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले समान २–२ वटा मन्त्रालय बाँडेर लिने मुख्यमन्त्री राईको तयारी छ । जसमा कांग्रेसलाई ४, माओवादी र एकीकृत समाजवादीलाई ३–३ वटा मन्त्रालय पर्नेछन् ।