काठमाडौ । आज होली । पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ । रङ दलेर खेलिने होलीमा रंगको गुणस्तरबारे भने ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ । यस्तै गन्ध नभएको रङ चलाउनु राम्रो हुन्छ । टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ।
केही गरी छालामा पहिले नै घाउ भएको छ भने केमिकल प्रयोग गरिएको रंग रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ। शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।
यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।
नरिवलको तेल लगाएर रङ खेल्यो भने हानी हुनबाट बच्न सकिन्छ। शरीर र कपालमा तेल लगाउँदा तेलको लेयर बस्छ जसले गर्दा रङ र छालाको बीचमा असर पर्न दिँदैन। यस्तो गर्दा एलर्जी हुनबाट बचाउँछ। त्यस्तै मोस्चराइजर क्रिम लगाए पनि छालामा असर कम गर्छ।
कपडाले शरीर पुरै ढाकेर होली खेलेको राम्रो हो। किनकी जति धेरैभित्र रङ जान्छ त्यति नै असर गर्ने सम्भावना धेरै हुन्छ।
कुनै समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ।