काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर विपद् जन्य घटना भइरहेका छन्। मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म देशका विभिन्न स्थानमा बाढी, पहिरो र चट्यांङका घटनाबाट एक दर्जन व्यक्तिको ज्यान गएको छ।
विपदका घटनामा उद्धार र खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्। नेपाल प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४५ वटा विपदका घटना भएका छन्।
विपदबाट देशभर १२ जनाको मृत्यु भएको छ। ९ जना घाइते र ६ जना बेपत्ता छन्। विभिन्न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ।
पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ। पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन्। तीन जना घाइते र चार जना बेपत्ता छन्।
त्यसैगरी चट्याङले पनि मानवीय क्षति पुर्याएको छ। देशभर चट्याङका १४ वटा घटना भएको प्रहरीको भनाइ छ। चट्याङकै कारण ७ जनाको मृत्यु भएको छ। ५ जना मानिस घाइते भएका छन् ।
त्यस्तै भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ। बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन्।
मंगलबार दिउँसो माछा मार्न जाँदा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ का एकै परिवारका चार जनालाई बगाएको थियो। जसमध्ये २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन्।