काठमाण्डौमा फेरि मेलम्ची पानी वितरण सुरु

न्युजलय ११ बैशाख २०७९, आइतबार ०५:१० मा प्रकाशित

 काठमाण्डौ । काठमाण्डौमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण आइतबार (आज) देखि फेरि सुरु भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँ बानेश्वरबाट पानी वितरणको शुभारम्भ गरेका हुन् । वर्षायाममा बाढीले पुर्याएको क्षतिपछि मर्मत गरेर आजदेखि फेरि मेलम्चीको पानी काठमाण्डौको धारामा वितरण सुरु गरिएको हो ।

गएको चैत २९ गते मेलम्ची खानेपानी आयोजनाको मुहानमा रहेको सुरुङबाट पानी सुन्दरीजल आइपुगेको थियो ।

आयोजनाको पहिलो चरणमा मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर खानेपानी काठमाण्डौ उपत्यकामा वितरणका लागि २६ किलोमिटरभन्दा लामो सुरुङ तथा पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरिएको थियो । 

मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा अघिल्लो वर्ष पानी काठमाण्डौ आइपुगेको थियो । .