काठमाडौ लगिएका उर्लाबारी आगलागी घटनाका २५ घाइतेमध्ये ८ गम्भीर

न्युजलय ३० कार्तिक २०८०, बिहिबार ०३:५१ मा प्रकाशित

काठमाडौ । उर्लाबारीस्थित सुन पसलमा भएको आगलागी निभाउने क्रममा जलेर घाइते भएका २५ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौको कीर्तिपुर अस्पतालमा उपचाररत २५ जनामध्ये आठ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 


आठ जनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् । 


गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।