काठमाडौं । मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा बसेको बैठकमा नेकपा एस पार्टीभित्र चर्काचर्की भएको छ । स्थायी कमिटी बैठकले मन्त्री फेर्न गरेको निर्णय कार्यान्वयन गराउन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन् ।
मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले मन्त्रालय छाड्न असहमति प्रकट गरेका हुन् । कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् ।
‘हामीलाई किन हटाउनु प¥यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन्,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’
झाँक्रि चर्किएपछि ढोका लगाएर बैठक अघि बढाइएको थियो ।
उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आलेले एक जना महिलासहित धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए ।
स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले भने राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्न अनि महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउन प्रस्ताव गरेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुईवटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि बिहीबार साँझ कोटेश्वरको माहौल नरम हुन पुगेको थियो ।