चोलेन्द्रशमशेरको बयान आज सक्ने तयारीमा महाभियोग सिफारिस समिति

न्युजलय २८ भदौ २०७९, मङ्गलबार ०२:४१ मा प्रकाशित

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । समितिले जबरासँग आज बयान सक्ने बताएको छ ।


त्यसका लागि समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ । बैठक भने बिहान ११ बजे बोलाइएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए ।  सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन् । ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ । 


जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन् । 

 

समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ । गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए । त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो । 

 

समितिको अहिलेसम्म चारवटा मात्रै बैठक बसेको छ । संसदको आयु अब तीन दिन मात्र बाँकी हुँदा महाभियोग के हुने भन्ने अझै अन्योल छ ।