विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको जिल्ला सचिव वसन्त सुवेदीले जानकारी दिए।
यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ भने १ (२) बाट रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको सुवेदीले बताए।
त्यसैगरी, प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम सिफारिस गरिएको छ। यस क्षेत्रको प्रदेशसभाका उमेदवारको नाम आगामी बैठकले सिफारिस गर्ने निर्णय गरेको सुवेदीले जानकारी दिए।
सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा मोहमद जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस गरिएको छ। प्रदेशसभामा क्षेत्र नम्बर ३ (१) बाट केशव विष्ट, गौरी परियार र नयनतारा सिटौलाको नाम सिफारिस गरिएको छ भने ३ ९२०बाट रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङको नाम सिफारिस गरिएको छ।