इनरुवा । सुनसरीको निर्वाचन क्षेत्र नं. २ मा इनरुवा र देवानगंज गाउँपालिका जोड्ने कौवाखोज सडकको चर्चा चुनावको बेला व्यापक हुने गर्छ । यो सडकसंग जोडिएर नेताहरुले चर्को भाषण गर्ने गर्छन् । नेपाली काँग्रेसबाट दुई–दुई पटक यस क्षेत्रको निर्वाचनमा जित्ने नेपाली काँग्रेसका नेता सीताराम मेहताले दुवै चुनावमा आफूले जितेपछि उक्त सडक बनाउने प्रतिबद्धता जनाए । तर उनले जितेको १० वर्षमा पनि सडक उस्तै छ ।
यो सडक विगत लामो समयदेखि काँग्रेस उम्मेदवार मेहताको चुनावी एजेन्डा बन्दै आएको छ । यही सडक बनाउँछु भन्ने आश्वासन दिएर उनले चुनाव जितिरहे । तर सडक कहिल्यै बनेन ।
सुनसरीको दक्षिणवर्ती गाउँपालिकाहरुसँग सदरमुकामसँग जोडिने यो सडकमा अहिले ठूला ठूला खाडल परेका छन् । ठुला सवारी साधनको त कुरै छाडौं, साईकल, सिटि रिक्सा समेत चलाउन समस्या हुने गरेको इनरुवा नगरपालिका ९ का वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी बताउँछन् ।
चुनाव जितेर गएपछि मेहता एक पटक भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्रीसमेत बनेका थिए । आफ्नो ठाउँबाट निर्वाचित सांसद राज्यमन्त्री, त्यो पनि भौतिक पूर्वाधार राज्यमन्त्री बनेपछि कौवाखोज सडक बन्ने भयो भनेर स्थानीयहरु उत्साहित भए । उनीहरुले मेहताको ध्यानाकर्षण पनि गराए । तर उनले उक्त सडक बनाउन ध्यान दिएनन् । ‘सडक बन्यो भने सीताराम मेहताको चुनाव लड्ने एजेन्डा नै सकिन्छ,’ स्थानीय भन्छन्, ‘यो पटक पनि त्यही सडक बनाउने आश्वासन दिँदै हिड्नुभएको छ ।’
उक्त सडकको आर्थिक महत्वसमेत ठूलो छ । सोही निर्वाचन क्षेत्रमा पर्ने हरिनगर गाउँपालिका युवा प्रदिप मेहताका अनुसार उक्त सडकले कृषिको अथाह भण्डारलाई सदरमुकाम इनरुवासँग जोड्छ । ‘कम्तीमा बाह्रैमास चल्ने राम्रो सडक बनिदिएको भए यहाँका किसानहरुको आयस्तर निकै माथि पुगिसक्थ्यो,’ उनी भन्छन् ।
पटक पटक आश्वासन दिने, त्यही आश्वासन बाँडेर चुनाव जित्ने तर सडक नबनाउने हुँदा यो सडकलाई ‘सीताराम मेहताको सडक’ भनेर बिपक्षीहरुले टिप्पणीसमेत गर्दै आएका छन् ।