व्यवशायीहरुको पहलमा झकिझकाउ संगीतचोक

न्युजलय २७ कार्तिक २०८०, सोमबार ०५:५५ मा प्रकाशित

इटहरी । तिहारको समयमा इटहरीको संगीत चोक झकिझकाउ भएको छ । इटहरी वडा नं. ६ मा इटहरी चोक छेउकै व्यवशायीक चोक हो संगीत चोक । स्थानीयहरुले चोकमा वाद्यवादनको प्रतिमा स्थापित गरे अनि नाम दिए, संगीत चोक । 


संगीत चोकका व्यवशायीहरुले आफ्नो पहलमा ७ लाख रुपैया बढी खर्च गरेर अहिले चोक सिंगारेका छन् । तिहारमा लाइटहरुको प्रयोग गरेर चोकलाई यति झकिझकाउ बनाएका छन् कि त्यो हेर्नकालागि टाढा टाढाबाट मानिसहरु आउँछन् ।


टिकटक बनाउने र राती गफिँदै टहल्नेका लागि यो मुख्य ठाउँ बनेको छ । सँगै स्ट्रिट फुड पनि पाइने भएपछि त झन् के चाहियो ।


इटहरीमा रात्रिकालीन बजार लगाउने भनेर इटहरी ४ आइतबारेमा तयारी गरिएको थियो । तर संगीत चोक सबैभन्दा उपयुक्त भएको स्थानीय व्यवशायी बताउँछन् । 


मध्यरातीसम्म पनि यहाँ चहलपहल हुन्छ । तर प्रशासनले भने मानिस भेला हुन नदिने गरेको गुनासो स्थानीय व्यवशायीले गरेका छन् ।