कर्मचारी र वकिलको विवादले देशभरका अदालतको काम प्रभावित

न्युजलय १७ असार २०८०, आइतबार ०६:२२ मा प्रकाशित

काठमाडौँ । उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । 

कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार(आज) दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिए । उनले अदालतमा रहेका कर्मचारीका आधिकारीक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेको र अदालतहरूमा सुनुवाइ हुन नसकेको बताए ।

असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ ।