कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द

न्युजलय ४ असोज २०८०, बिहिबार ०३:१० मा प्रकाशित

विराटनगर । शिक्षकहरू आन्दोलनमा गएपछि कोशी प्रदेशका ५ हजार ३ सय ९३ विद्यालयको पठन पाठन अवरुद्ध भएको छ । शिक्षकहरू आन्दोलनमा उत्रिएपछि प्रदेशका सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएको हो । 

आन्दोलनका लागि काठमाडौँ नगएका शिक्षकहरूले पनि कक्षा बहिस्कार गरेपछि सामुदायिक विद्यालयको पठन पाठन हुन सकेको छैन ।

आन्दोलनमा नगएका शिक्षकहरू विद्यालयमा गए पनि हाजिरी गरेका छैनन् । 

उनीहरूले सादा कपीमा उपस्थिति गरेका छन् । शिक्षकहरूको आन्दोलन र विद्यालय बन्दको हल्लाले गर्दा विद्यार्थीहरू समेत नआएको विद्यालय व्यवस्थापन समितिहरूले बताएका छन् ।   

मन्त्रालयका अनुसार प्रदेशमा ५ हजार ३९३ वटा सामुदायिक विद्यालय छन् ।कोशी प्रदेशमा सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी १६ हजार ६५७ र राहत अनुदान शिक्षकको सङ्ख्या ३ हजार ८ सय ४० रहेको छ । सामुदायिक विद्यालयमा एक लाख ७५ हजार विद्यार्थी अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।