विराटनगर । सदस्यता शुद्धीकरणमा भेदभाव गरिएको भन्दै पत्रकारसम्बद्ध तीन वटा संगठनले नेपाल पत्रकार महासंघ कोशी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठन र स्वतन्त्र पत्रकार संघ कोशी प्रदेश समितिले आइतबार विराटनगरस्थित कार्यालयमा तालाबन्दी गरेका हुन् ।
महासंघले तोकिएको मापदण्डलाई वेवास्ता गरेको, आस्थाका आधारमा सक्रियताको परिभाषा गर्ने, अन्य संगठन निकट पत्रकारको शुद्धीकरण नगर्ने र मापदण्ड पुगेका नयाँ पत्रकारलाई समेत सदस्यता वितरणमा रोक लगाउने गरेको प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष अविजाल विष्टले आरोप लगाएका छन् ।
महासंघको प्रदेश समितिले केही जिल्ला महासंघबाट क्रियाशील र सक्रिय पत्रकारहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा सदस्य कटौती गरेको र केही जिल्लाबाट पठाइएको सहमतिको नाममाथि प्रदेश समिति हाबी हुँदै कैंची लगाउने काम गरेको भन्दै समाजवादी प्रेस संगठनले पनि विरोध जनाएको छ ।
संगठनका कोशी प्रदेश अध्यक्ष बन्धु पोखरेलले महासंघ सम्बद्ध व्यक्तिले पत्रकारिताको इतिहास बोकेका पत्रकारहरूको योगदानलाई बिर्सेको र शुद्धीकरण विभेदपूर्ण भएकोले तालाबन्दीमा उत्रिनु परेको दाबी गरे ।
संगठनहरुले महासंघजस्तो ओजपूर्ण संगठनलाई बन्धकी राखेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट आर्थिक लाभ लिने केही पदाधिकारीहरू नै अहिले शुद्धीकरणको हर्ताकर्ता हुनु हाँस्यापस्द र विरोधाभाषपूर्ण देखिएको आरोप लगाएका छन् ।
स्वतन्त्र पत्रकार संघ कोशी प्रदेशका संयोजक विजय खतिवडाले प्रदेश समितिले पत्रकारिताको मूल भावनाबाट विचलित हुँदै कोशी सदस्यता शुद्धीकरणको नाममा राजनीतिक गतिविधि गरेको दाबी गरे ।